
काठमाडौँ, २७ पौष । आज पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
काठमाण्डौ, गोरखा, नुवाकोटलगायतका देशका विभिन्न ठाउँमा पृथ्वी जयन्तीको कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाले दिउँसो काठमाण्डौको भृकुटीमण्डपमा विशेष कार्यक्रमको तयारी गरेको छ ।

सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजै सिंहदरबार अगाडि समापन गरिँदैछ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाण्डौसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको हो । वि।सं। १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाह १७९९ मा गोरखाका राजा बनेका थिए ।
पृथ्वीनारायण शाहले राजा बनेपछि सैन्यबलका साथै चातुर्य र कूटनीतिको सहयोगमा नेपाल एकीकरणको मूल जग बसाएको मानिन्छ ।