१५ पौष, काठमाडौँ। एनआईसी एशिया बैंकले ‘वीच्याट–पे’ मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ ।

यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट–पेमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्नका लागि यस बैंक, फष्ट पे टेक्नोलोजी प्रा। लि। र चीनको स्वीफ्टपास कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, फष्ट पेका तर्फबाट निर्देशक विप्लव जोशी र स्वीफ्टपासको तर्फबाट भाइस प्रेसिडेन्ट म्याजिक टाङले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात् वीच्याट–पे मोबाइल वालेट प्रयोगकर्ताहरुले यस बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरेर डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

बैंकले वीच्याट–पेबाट भुक्तानी प्राप्त गर्न चाहने मर्चेन्टहरूका लागि बैंकको वेबसाइटमार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ । ‘डिजिटल फष्ट बैंक’ बन्ने आफ्नो दीर्घकालीन रणनीतिलाई हासिल गर्नका लागि यस बैंकले ग्राहकहरूमाझ सहज एवं सबल बैंकिङ्ग सुविधाको लागि हालसम्म देशभर १५ हजार भन्दा बढी क्यूआर मर्चेन्टहरू खडा गरिसकेको छ ।

देशभर यसरी सञ्जाल बिच्छाउन सफल भएपश्चात् वीच्याट–पेलाई आफ्नो भुक्तानी प्रणालीमा ल्याउनुले नेपालको डिजिटल भुक्तानीको इतिहासमा नयाँ मानक थप्ने बैंकले विश्वास लिएको छ । हाल कोरोना महामारीका कारण पर्यटक आवतजावत निकै कम रहेपनि वर्षेनी चीनबाट ठूलो संख्यामा पर्यटक घुम्न आउने गरेको सरकारी तथ्याङ्क रहेको छ । यसरी नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य योगदान दिइरहेका चिनियाँ पर्यटकहरूले यहाँ आएर विभिन्न सेवा तथा सामग्री खरिद गरी सहज रुपमा वीच्याट–पेमार्फत भुक्तानी गर्न सकिन्छ ।

चिनियाँ नागरिकहरूमा अत्यन्त लोकप्रिय रहेका उक्त मोबाइल वालेटको सेवा नेपालमा समेत सुचारु हुँदा चिनियाँ पर्यटकहरूलाई अत्यन्त लाभदायी हुनेछ र यसले नेपालमा चिनियाँ पर्यटकहरूले सामग्री तथा सेवामा खर्च गर्ने प्रकृयामा सहजता ल्याई राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा समेत सघाउ पुग्ने बैंकको अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय