पुस १३ , काठमाडौं । बंगलादेशले रोहिंग्या शरणार्थीको दोस्रो समूहलाई नयाँ टापुमा सार्न सुरु गरेको छ । बंगालको खाडीमा बनेको भसन चार टापुमा कोक्स बजारमा रहेका रोहिंग्याहरुलाई सार्न लागिएको हो ।

बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले अहिलेको समूहमा एक हजारभन्दा कम शरणार्थीहरु रहेको बताए । यसअघि नै यो महिनाको सुरुमा बंगलादेशको सरकारले एक हजार ६ सयभन्दा धेरै शरणार्थीलाई उक्त टापुमा सारेको थियो ।

विदेशमन्त्री मोमेनले शरणार्थीहरु नयाँ टापुमा सर्नका लागि उत्साहित रहेको बताए । उनीहरुको परिवारबाट भसन चारको विषयमा सुनेकाले उनीहरु उक्त टापुमा जान उत्साहित देखिएको मोमेनको भनाइ छ । मोमेनका अनुसार नयाँ टापु कोक्स बजारको तुलनामा सयगुणा राम्रो छ । साथै शरणार्थीहरुले उक्त टापुमा जान आवेदन दिँदै आएका छन् । उनले यो टापुमा जाने मानिसहरुले यसलाई मन पराएको बताए ।

बंगलादेशमा अहिले सात लाखभन्दा धेरै रोहिंग्या शरणार्थी छन् । बंगलादेशले करिब एक लाख शरणार्थीलाई भसन चारमा सार्ने योजना बनाएको छ । यद्यपि मानव अधिकारवादीहरुले भने यो टापु बंगलादेशको वास्तविक भूमिबाट निकै टाढा भएको भन्दै आपत्ति जनाउँदै आएका छन् । यसअघि रोहिंग्याहरुलाई डर तथा धम्की देखाएर यो टापुमा पठाउन बाध्य पारिएको समाचार सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय