काठमाडौँ, २० पौष । काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाबाट स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँ भारतबाट नेपाल आएको खुलेको छ ।

आज बिहान कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको प्रदेश ३-०१ ०२३ च २२५९ नम्बरको कार जाँच गर्ने क्रममा नागढुंगाबाट प्रहरीले सो रकमसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कार चालक कपिलवस्तु वाणगंगा ४ का २२ वर्षीय संगम थारु छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले सूचनाका आधारमा प्रहरीले सो रकम बरामद गरेको बताए । उनका अनुसार सो रकम भारतबाट ल्याएर नेपाली सीमा क्षेत्रमा पटक(पटक सटही गरिएको थियो ।

आफूहरुले सो रकमको ‘कनेक्सन’ खोजिरहेको एसएसपी सिंहले बताए । उनले भने, “प्रारम्भिक रुपमा हेर्दा सो रकम सुन किन्न वा हुन्डी गर्न ल्याइएको हुनसक्छ । यसबाहेक अपराधिक कामका लागि पनि हुनसक्ने सम्भावना रहन्छ । हामी यसको गहन अनुसन्धानमा जुटेका छौं । अहिले सबै कुरा भन्न सकिँदैन ।”

बरामद रकम र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको छ । प्रहरीले पक्राउ परेका दुवैजनाको ‘हिस्ट्री’ खोजिरहेको एसएसपी सिंह बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय