काठमाडौं, असोज ४। सेप्टेम्बर १७ देखि रुसमा सुरु भएको पहिलो बुद्धिस्ट अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा नेपालको सहभागिता विवादमा परेको छ। सो प्रतियोगितामा पुरुषोत्तम सिलवाल र सिन्दिरा जोशीले नेपालको तर्फबाट भाग लिएका छन्।

तर, वर्तमान राष्ट्रिय च्याम्पियन रुपेस जयसवालले प्रतियोगितामा सहभागिता प्रक्रिया अपारदर्शी भएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूलाई पनि सुरुमा सूचीमा राखिएपनि अन्तिममा हटाइएको भन्दै आपत्ति जनाएका हुन्। जयसवालका अनुसार प्रतियोगिताको एमच्योर सेक्सनमा २००० भन्दा कम रेटिङ भएका खेलाडी आवश्यक भएकाले आफू र सिलवालबीच एकको नाम काटिनुपर्ने अवस्था आएको थियो। यसपछि आफ्नो नाम हटाइएपछि उनले छनोट प्रक्रियामै खोट रहेको आरोप लगाएका हुन्।

यससँगै, जयसवालले हालै काजकिस्तानमा जारी विश्व क्याडेट च्याम्पियनसिपमा पनि चयन प्रक्रिया प्रस्ट नभएको भन्दै आपत्ति जनाएका छन्।

यसैबीच, हिमालयन चेस एकेडेमीले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको छनोटमा पारदर्शिता नभएको आरोप लगाएको छ। सोही विषयमा अखिल नेपाल चेस संघले पनि विज्ञप्ति जारी गर्दै नेपाल बुद्धिचाल महासंघको कार्यशैलीप्रति कडा आपत्ति जनाएको छ।

संघका अध्यक्ष दिपेन राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “महासंघको कुनै क्यालेन्डर नहुनु, अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटको कार्यविधि नबनाउनु तथा अन्तिम समयमा आफू अनुकूल व्याख्या गरेर सहभागी गराउने प्रवृत्ति विगतदेखि नै दोहोरिँदै आएको छ। यसै कारण चेस खेलाडीको भावनालाई ‘ब्ल्याकमेल’ गर्ने नियतले यस्तो शैलीलाई निरन्तरता दिइएको हाम्रो ठम्याइ छ।”

संघले रुसमा जारी प्रतियोगितामा सहभागी खेलाडीहरूको योग्यताप्रति कुनै विमति नभएको प्रष्ट पार्दै तर उनीहरू छनोट हुने प्रक्रिया भने प्रश्नवाचक भएको बताएको छ। साथै, विगतदेखि नै देखिँदै आएको अनियमितता र बेतिथिको निरन्तरता रोक्न सम्पूर्ण चेसकर्मीलाई गोलबन्द हुन आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय