काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी चैत १२ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सोही दिन अपराह्न ४ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने तय भएको हो।

बैठकको मुख्य कार्यसूची संसदीय दलको नेता चयन गर्ने रहेको छ। हालै सम्पन्न आम निर्वाचनमा रास्वपा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बनेसँगै उक्त प्रक्रिया अत्यन्त महत्त्वपूर्ण मानिएको छ।
पार्टी स्रोतका अनुसार वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गर्ने सहमति भएको छ, जसलाई बैठकले औपचारिक अनुमोदन गर्ने तयारी गरिएको छ।
उक्त दिन नै नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम तय भएकाले त्यसलगत्तै बस्ने बैठकले सरकार गठन र आगामी राजनीतिक रणनीतिका विषयमा पनि विस्तृत छलफल गर्नेछ। सभापति लामिछानेले पार्टीको साङ्गठनिक नेतृत्व सम्हाल्ने र शाहले संसदीय मोर्चाको नेतृत्व गर्ने गरी आन्तरिक सहमति बनेको जनाइएको छ।

यसैगरी बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, समसामयिक राजनीतिक अवस्था तथा चैत १३ गते हुने भनिएको प्रधानमन्त्रीको शपथ ग्रहणको तयारीबारे पनि छलफल हुने जानकारी रास्वपाका प्रवक्ता मनिष झाले दिएका छन्।

बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय